फाइजर र अक्सफोड–एस्ट्राजेनेकाका कोरोना भाइरसविरुद्धका खोप भारतमा पहिलोपटक पुष्टि भएको संक्रामक भेरियन्टविरुद्ध प्रभावकारी देखिएको छ ।
भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टमा खोप प्रभावकारी छ कि छैन भन्ने हेर्नका लागि गरिएको अध्ययनमा खोप प्रभावकारी देखिएको हो । खोपको दुई मात्रा नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको अध्ययनमा फाइजर–बायोएनटेकको खोप भारतमा देखिएको कोरोना भाइरसको बी १.६१७.२ भेरियन्टमा दोस्रो मात्रा लगाएको दुई हप्तापछि लक्षणसहितको संक्रमणविरुद्ध ८८ प्रतिशत प्रभावकारिता देखिएको हो । बेलायतमा देखिएको बी.१.१.७ भेरियन्टविरुद्ध यो प्रभावकारिता ९३ प्रतिशत थियो ।
यस्तै एस्ट्राजेनेका खोपको दुई मात्रा भारतमा देखिएको भेरियन्टबाट हुने लक्षणसहितको संक्रमणविरुद्ध ६० प्रतिशत प्रभावकारी देखिएको छ । यो प्रभावकारिता बेलायतमा देखिएको भेरियन्टमा ६६ प्रतिशत रहेको पिएचइले जनाएको छ ।
नयाँ भेरियन्टविरुद्ध खोप प्रभावकारी देखिनु निकै खुशीको कुरा रहेको बेलायती स्वास्थ्य मन्त्री म्याट हान्ककले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-