काठमाडौँ – जसपामा उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतासँग फेरि प्रष्टीकरण माग गरेको छ।
यसअघि जेठ ११ गते तीन दिनको समय दिएर सोधिएको प्रष्टीकरणको जवाफ नआएको भन्दै यादव पक्षले शनिबार दोस्रोपटक २४ घण्टाको समय दिएर जवाफ माग गरेको हो।
केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेको पत्र अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पठाइएको छ। उनीहरुलाई पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेको आरोप लगाइएको छ। जेठ ८ गते बसेको यादव पक्षको बैठकले सरकारमा सहभागी भए पार्टीबाट स्वत: निष्कासन गर्ने निर्णय गरेको थियो।
पत्रमा भनिएको छ, ‘केन्द्रीय कार्यकारिणी समितिको मिति २०७८/२/८ मा भएको निर्णयको बुँदा नं ४ बमोजिम ईलाई कारबाही किन नगर्ने भनी स्पष्टिकरणको जवाफ प्राप्त हुन नआएकोले दोस्रो पटक पुनः यो पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र चित्त बुझ्दो स्पष्टिकरण लिई आउन हुन अनुरोध छ। यो पत्र प्राप्त गरेको म्याद भित्र चित्त बुझ्दो सन्तोष जनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धि ऐन, २०७३ र जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधानको ६४ (५) अर्थात हाल संशोधित धारा ६९(५), ५० (१) र मिति २०७८/२/२८ मा भएको निर्णयको बुदा न ४ बमोजिम निष्काशन समेतको कार्बाही हुनेछ।’
यादवले प्रष्टीकरण सोधिरहँदा ठाकुर पक्षले पनि ११ गते नै सात बुँदे जवाफ पेश गर्न यादवलाई निर्देशन दिएको छ। पार्टी हित विपरीत काम गरेको, गुटबन्दी गरेको लगायत सात वटा बुँदामा आधारित भएर जवाफ दिन यादवलाई भनिएको थियो। सरकार निर्माणका विषयमा मतभेद हुँदा जसपाका सुरु भएको विवाद अन्तत पार्टी विभाजनको अवस्थासम्म आइपुगेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-