कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको दिल्लीमा लकडाउन फेरि एक हप्ताका लागि थप भएको छ। दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले मे ३१ बिहान ५ बजेसम्मका लागि लकडाउन थप भएको घोषणा गरेका हुन्।
यस्तै संक्रमितको उपचारको क्रममा कोरोना भाइरसको संक्रमणका कारण निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति स्वरुप दिने घोषणा पनि दिल्ली सरकारले गरेको छ। मुख्यमन्त्री केजरीवालले आइतबार पत्रकार सम्मेलन मार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले दिल्लीमा लकडाउनले राम्रो प्रभाव पारेको बताए। लकडाउनकै कारण संक्रमणदर ३६ प्रतिशतबाट २.५ प्रतिशतमा आएको उनले बताएका छन्।
अवस्था सुधार भए पनि कोरोनासँगको युद्ध जित्न बाँकी नै रहेको र त्यसका लागि अनुशासन कायम गर्नु पर्ने उनले बताए। यसैबिच केजरीवालले दिल्लीमा कोरोना भाइरसविरुद्धको खोपको अभाव रहेको पुनः दोहोर्याएका छन्।
उनले भनेका छन्, ‘दिल्लीसँगै देशभर नै खोप अभाव छ। पर्याप्त खोप पाएमा हामीले तीन महिनाभित्रै दिल्लीका सबै बासिन्दालाई खोप लगाउने योजना बनाएका छौँ।’
दिल्लीमा खोप अभावकै कारण १८ देखि ४४ वर्षका मानिसलाई खोप दिने अभियान अहिले बन्द छ। यसअघि केजरीवालले केन्द्र सरकारसँग दिल्लीका लागि पर्याप्त खोप उपलब्ध गराउन अपील गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-